मेरो राजनीति : विवेकशीलदेखि स्वतन्त्रसम्म

२०७० को संविधानसभाको दोस्रो निर्वाचन हुने तरखर हुँदै गर्दा ‘विवेकशील नेपाली दल’मा आधारित रूपमा म सहभागी भएको थिए। निर्वाचन आयोगबाट ‘विवेकशील नेपाली दल’को संज्ञा भने २०७१ सालमा मात्रै प्राप्त भयो। विवेकशील नेपाली दलको “नेपाल खुल्ला छ” भन्दै उतिखेर गर्ने गरिएको शान्तिपूर्ण प्रतिरोधको कार्यक्रमले मलाई सो दलप्रति आकर्षित गरेको थियो।

त्यसमाथि दलभित्र प्राय: युवाहरू नै देख्दा म झनै हौसिएको थिएँ। सो दलमा सामेल हुनुअघि स्वतःस्फूर्त रूपमा आयोजना हुने र्‍यालीहरूमा म एक्लै पनि सहभागी हुनेगर्थें। जस्तो कि एक समय भारतीय टिभी च्यानल, जीटिभीले “बुद्ध भारतमा जन्मिएका हुन्” भनेको विषयलाई लिएर त्यसकै विरोधमा कोही कसैले “बुद्ध वाज बर्न ईन नेपाल” का ब्यानरहरूसहित आयोजना भएको जुलुसमा पनि उस्तै सक्रियताका साथ सामेल भएँ।

सो जुलुसमा कुनै नेपाली टेलिभिजन च्यानलले मलाई सो जुलुसका बारे सोध्यो। मैले युवा जोसमा भनेँ, “नेपालको राजनीतिको रिमोट भारतसँग छ भन्ने सुनिन्छ। बुद्धको जन्मस्थलबारे हाम्रा नेताहरू चुपचाप बसेको देख्दा रिमोट साँच्चिकै उतै छजस्तो लागिरहेको छ।” १६ वर्षकी म उतिखेर ११ या १२ मा पढ्थेँ। पहिलो पटक टेलिभिजनको बुमका अगाडी आफ्नो प्रतिक्रिया दिँदा म उत्साहित भएको थिएँ।

रूप र सार 
टेलिभिजनमा मेरो छोटो क्लिप आएपछि चिने जानेका आफन्तले मलाई स्याबासी दिनु भयो। केहीले “तिमि त चर्चित भयौ” भन्नुभयो। आफू पनि सहभागी भएर ‘प्रोटेस्ट’ गरेको सो मुद्दाको बैठान भए हुन्थ्यो। जिटीभीको सो सिरियल बन्द भइदिए पनि हुन्थ्यो जस्तो लाग्यो। तर बुद्धको जन्मस्थललाई लिएर सतही रूपमा भावुक भएको विषय अहिले सम्झँदा भने कच्चा लाग्छ।

बुद्ध चेतना र ज्ञानलाई केबल उनको जन्मस्थानसित जोड्ने भन्दा पनि वुद्धशिक्षालाई पो फैल्याउनुपर्छ भन्ने बोध केही वर्ष पछि हुन थाल्यो । नेपाल सरकारले बुद्ध वाणीलाई समाजको कुना कुनामा फैलाउन काम गर्नुपर्छ भन्ने लाग्न थाल्यो । मजस्ता युवाले पनि बुद्ध दर्शन र इतिहासको मिहिन अध्ययन गरेर आम मानिसलाई बुझाउने काम पो गर्नुपर्छ जस्तो लाग्यो। उतिखेर रूप पक्षको चिन्ता बढी थियो। बुद्ध नेपालमा जन्मेको कुरा बढी महत्त्वपूर्णझैँ लाग्थ्यो र बुद्ध ज्ञानबारे मतलब थिएन। तर आज आएर मूलतः रूप होइन, सार बलियो हुनुपर्छ भन्ने लाग्न थालेको छ।  यस खालको चेतना ममा बिस्तारै बढ्दै जाँदा सोही कुरालाई मैले पार्टी र संगठनमा पनि राखेँ।

मेरो घरमा स्कुले किताब बाहेक ममीको पूजा कोठामा रहेको भागवत गीता, लक्ष्मी महिमालगायत आरती भजन र धार्मिक किताब थिए। त्यसका अलावा मामाघरबाट मैले ल्याएका पुराना मुना र मधुपर्क मात्र हुन्थे। टेलिभिजन र पत्रिकामा आउने समाचारहरू बुझ्न सक्दा तिनले मलाई राजनीतिका आयाम सिकाउन सक्थे होला तर सानै उमेरमा कोही अर्को बुझ्नेले अर्थ लगाइदिए मात्र न हो, नत्र आफैँले त राजनीतिका जटिलता कसरी बुझ्नु? कसरी अर्थ लगाउनु?

२०७० साल ताकाको कुरा हो, मेरो ममी साक्षर हुनुहुन्थ्यो तर राजनीतिक रूपले होइन। ममी भोट कसलाई दिनुभयो भनेर सोध्दा ‘घाम र रूखलाई’ भन्नुहुन्थ्यो। “किन घाम र रूखलाई भोट दिएको त भन्दा उहाँको उत्तर हुन्थ्यो, “एउटा चाहिँ छिमेकी दाइ भएर अर्को आफ्नै दाइले भन्या भएर !” मलाई “हत्तेरिका ममी” भन्न मन लाग्थ्यो तर उत्तिकै सहानुभूति पनि जाग्थ्यो। मेरो अन्तर मनले भन्थ्यो, ” मैले जति नै अवसर पाउनु भएको भए मेरो ममी मभन्दा भन्दा १० गुणा चलाख हुनुहुन्थ्यो। मैले के फुर्ती गर्नु?”

विचारका बहस
मैले राजनीतिक कुराकानी र बहस गर्न थालेको २०७० देखि नै हो। माहिलो मामाको छोरा अजय दाइसँग त्यसअघि पनि हामीबीच समाजका बारे छलफल र विमर्श हुन्थे। मुख्यगरी नेपाली समाजमा महिलाको भूमिका र सशक्तीकरणको विषयमा हामी कुरा गर्थ्यौं। विवेकशील नेपाली दलमा सामेल हुनु पूर्व पनि उनै दाइसँग सल्लाह गरेको थिएँ। उहाँ उतिखेर इन्जिनियरिङ पढ्दै हुनुहुन्थ्यो। उहाँ २०७० सालको चुनाव भने बहिस्कार गर्नुपर्ने पक्षधरको हुनुहुन्थ्यो। बहिस्कारबारे मलाई पनि सम्झाउन खोज्नुभयो तर लाद्न खोज्नुभएन। मैले “अब विवेकशील नेपाली दलको यात्रामा लागेँ” भन्दा “सुरुवात राम्रो छ” भन्नुभयो। मैले त्यसो भन्दै गर्दा राजनीतिको त्यो यात्रा एक लामो र निरन्तर यात्रा हुनेछ भन्ने चाहिँ मलाई नै थाहा थिएन।

सांगठनिक रूपमा म २०७० साल देखि विवेकशील नेपालमा आबद्ध भएर एक सङ्गठन भित्र र बाहिर पनि आफ्नो पहिचान निर्माणमा लाग्न थालेँ। पार्टीमा लागेर आफ्नो विशिष्ट पहिचान नै बनाउँछु भन्ने ध्यानका साथ म राजनीतिमा लागेको होइन तर आइ परेका  र आफूले सही ठानेका कामहरू निर्धक्क गर्दै गएँ। पार्टी सङ्गठनभित्र मानिसहरूले चिन्दै गए। बाहिर पनि हाम्रो पार्टी र यदाकदा मेराबारे चर्चा हुन थाल्यो। घरकी मेरी सोझी आमा विश्वस्त हुनुहुन्थ्यो, “छोरी खुसी छे। पढाई पनि बिगारेकी छैन।”

यता म भने आफ्नो संगठनका लागि समय दिँदै थिएँ। पढाइको समय पनि राजनीतिमा बाँडिँदै थियो। पेलिँदै, लड्दै, उठ्दै र सिक्दै म राजनीतिको यात्रामा थिएँ। सुरुवाती दिनमा मूलधारका मिडिया र विद्वानहरूलाई “विवेकशील नेपाली दल”लाई राजनीतिक दलको संज्ञा दिन सास अड्केझैँ भयो। कलिला उमेरका युवायुवतीको अभियान कसरी दल हुन सक्छ भन्ने सोच एकातिर हुन सक्थ्यो, अर्कोतिर विवेकशील नेपाली दलको वाद, सिद्धान्त र राजनीतिक चरित्र के हो भन्नेबारे मिडिया र सचेत तप्काले खोजेको उत्तर जायज नै थियो। हामी उतिखेर भन्ने गर्थ्यौं, “हामी मध्यमार्गी हौँ। न लेफ्ट, न राइट। मुद्दा विशेषमा हामी स्पष्ट छौँ” भन्नेगर्थ्यौं।

हामी उद्यमशीलता तथा व्यवसायलाई प्रवर्धन गर्नुपर्छ र बजारलाई धेरै नियन्त्रणमा राख्नु हुन्न भन्ने कुरा गर्थ्यौं। त्यस मुद्दाले हामीलाई राइटतिर धकेल्थ्यो। फेरि शिक्षा र स्वास्थ्यमा राज्यको प्रमुख भूमिका हुनुपर्छ तथा धार्मिक स्वतन्त्रता आवश्यक छ भन्ने अडान लिन्थ्यौँ। ती मुद्दाहरूले लेफ्ट पक्षधर तातर्फ संकेत गर्थ्यो। यी उल्झनहरूका बीच हामी “त्यसैले हामी प्राग्म्याटिस्ट सिद्धान्त मान्छौँ” भनेर स्पष्ट पार्न खोज्थ्यौँ। तर पनि हरेक जसो अन्तरवार्तामा हामी र हाम्रो दललाई “खै त तपाईंहरूको त वाद नै छैन?” भन्ने कुरा आउँथ्यो।

संघीयतामा अल्झिनु, संविधान नबन्नु
२०७० को संविधानसभाको चुनावमा विवेकशीलका ४ जनाले ‘नेपालको संविधान  बनाउन हामी पनि सक्षम छौँ’ भन्दै काठमाडौँ १, ४, ५ र ७ मा उम्मेदवारी दिनुभयो। राजनीतिक पृष्ठभूमि बिना नै चुनावमा होमिएका हाम्रा नेताहरू गोविन्द नारायण, सन्तोष, उज्ज्वल र पुकार दाइले चुनाव नजिते पनि त्यसपश्चात् संविधान निर्माणका लागि सडकबाट दबाब दिने कार्यक्रम भने बनायौँ। त्यो कार्यक्रमको नाम ‘नेता ज्यू खबरदार! संविधान खोइ?” भन्ने थियो। त्यही बेला मैले “सङ्घीयतामा अल्झिनु, संविधान नबन्नु”  लेखेको एउटा फ्लेक्स ब्यानर बोकेकी रहेछु। एउटा कुरा उल्लेख गरौँ, कुनै बेला विवेकशील दलभित्र “यो वाद, त्यो वाद देश भयो बर्बाद” भन्ने विचारहीन भाष्य निर्माणकर्ताहरूमध्ये म आफैँ पनि थिएँ।

हालसालै आएर त्यो फोटो हेर्दा आफैँलाई हाँसो लाग्यो। त्यतिखेर प्रमुख दलका नेताहरू संघीयताको विषयलाई आफ्नो सांगठनिक फायदा, नेता व्यवस्थापन लगायतका कुराहरू ध्यानमा राखेर वादविवाद गरिरहेका थिए। हामीले राजनीतिक परिपक्वता देखाउँदै सडकको खबरदारी सँगै, दस्ताबेजीकरणको रूपमा २०७१ साल माघमा “नेपालको संविधान यस्तो हुनसक्छ” भनेर एउटा प्रोटोटाइप किताब सार्वजनिक गर्‍यौँ। हामीले त्यसमा किताबमा नेपालका लागि कस्तो संघीयताको मोडेल ठिक हुन्छ, विदेश नीति कस्तो हुने लगायतका विषय थिए। निर्वाचन प्रचारप्रसारमा लागेभन्दा सक्रियताका साथ हामीले समूहहरू नै बनाएर सो किताब काठमाडौँका कतिपय घरघरमा गएर बाँड्यौं। दुई वटा किस्सा म बिर्सन्नँ:

पहिलो किस्सा, अविरल, म, सन्नी (विनय) दाइ सबेरै ३:४५ मा महाराजगन्ज चक्रपथ चोकमा जम्मा भयौँ। त्यति बिहानै हामी सडकको चोकमा जानुको एउटै उद्देश्य थियो: सबेरै आउने पत्रिकाभित्र विवेकशील नेपाली दलले प्रस्ताव गरेको नेपालको संविधानको एक प्रति प्रत्येक पत्रिकाभित्र राखिदिने। त्यसो गर्न सक्दा पत्रिकावालाले घरघर पत्रिका पुर्‍याउँदा हाम्रो सोचको संविधानको किताब पनि पुग्ने पक्का थियो। हामीले त्यसै गर्‍यौँ। माघ महिनाको चिसोमा हामीलाई कहाँबाट त्यस्तो जाँगर आएको होला?

दोस्रो किस्सा, ममी रमला अनि दिदी कौसल्यालाई लिएर हामी सबैका व्यक्तिगत ब्याग तथा अर्को एक झोलामा समेत प्रस्तावित संविधानको किताब हालेर बुढानीलकण्ठ, हात्तीगौँडा, गोल्फुटार, बाँसबारी क्षेत्रमा सो पुस्तक बाँड्न निस्कियौँ। बुढानीलकण्ठ एरियामा किताब बाँड्दै थियौँ, ठ्याक्कै मलाई नेसनल कलेजमा आन्टी डेरिभेटिभस् (म्याथ्स) पढाउने दल बहादुर अधिकारी (डिबि सर) सँग जम्काभेट भयो। एकै छिन त म आत्तिएँ। ममीसँगै हुँदा किन मेरै शिक्षक भेटिनु परेको होलाजस्तो लाग्यो । तर भेटमा सरले ममीलाई “रन्जु निकै स्मार्ट छ” भन्दिएपछि मलाई हलुका महसुस भयो। गङ्गालाल हृदय केन्द्र एरिया पुग्दा ममी धेरै थाक्नुभयो। त्यसपछि हामी घर हिँड्यौँ।

शान्तिपूर्ण अभियान
विवेकशीलका अभियान अन्य दलका भन्दा सृजनशील र रचनात्मक हुने गर्थे। हामी झटपट कुनै पनि खालको अभियान सञ्चालन र व्यवस्थापन गर्ने सामर्थ्य राख्थ्यौँ। तर सँगै हामीलाई राजनीतिक दलको संज्ञा पाउने ठुलो हुटहुटी थियो। २०७२ सालको महाभूकम्प हाम्रो लागि विवेकशील नेपाली दलको रूपमा पहिचान बनाउन मद्दत गर्ने एउटा ठुलो समय भयो। किनभने हामीले वैशाख १२ मा भूकम्प जाने बित्तिकै उत्तिकै तदारुकताका साथ काम गर्न थाल्यौँ । त्यसले गर्दा हाम्रो दलको कार्यालय रहेको आसपास क्षेत्रमा विवेकशील दलको राम्रो प्रभाव पार्‍यो। बिस्तारै मूलधारका मिडियाले पनि हामीलाई स्थान दिन थाले। त्यसपछि राजनीतिक रूपले बलियो बन्न दलको राष्ट्रिय सम्मेलन पनि भयो र पहिलो पटक आम सदस्यहरूबाट निर्वाचित समिति बन्यो।

हाम्रो सशक्त राजनीतिक अभ्यास मध्येको दलभित्रको निर्वाचन पनि एउटा थियो। त्यसताका नाकाबन्दी चलिरहेको थियो। दलको आधिकारिक कार्यक्रम सकेर हामी बालुवाटार अघि रित्तो सिलिन्डर बजाएर नागरिकलाई परेको नाकाबन्दीको मार सुनाउनका लागि अनेक खालका कार्यक्रम गर्थ्यौं। शान्तिपूर्ण आन्दोलन र अभियानमा सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति उज्ज्वल थापा दाइ हुनुहुन्थ्यो। “जे हुन्छ, शान्तिपूर्ण रूपले नै हुन्छ, हिंस्रक भएर आन्दोलन गर्ने दिन गए अब” भन्नु हुन्थ्यो उहाँ। मलाई पनि त्यस्तै लाग्थ्यो।

हाम्रो अभियान अहिंसात्मक त हुनु नै थियो, हामी राजनीतिक चरित्र भएको पार्टी हौँ भनेर जनतालाई विश्वास दिलाउनु थियो। त्यसैले निर्वाचनमा सहभागी हुने, राजनीतिक भेटवार्ताहरू गर्ने, राजनीतिक लेख लेख्ने, अन्तरवार्ता दिने, भेला गर्ने र आफ्नो दलले विश्वास गर्ने मुद्दाहरूको दस्ताबेज बनाउने काम गर्न थाल्यौँ हामी। बलियो टेक्ने धरातल, हिँड्ने बाटो र पुग्ने गन्तव्यसहितको पार्टी बनाउनुपर्छ हाम्रो अभियान भन्नेबारे हामी बुझ्दै थियौँ।

विनेदमा नेतृत्व विकास एकेडेमी (एलबीए) नामको एक अङ्ग थियो जुन व्यवस्थापिका अङ्ग अन्तरगत पर्दथ्यो। एलबीए मा दलका सबै सदस्यहरू हुँदैन थिए, यसमा छानिनको लागि जाँच हुन्थ्यो। मलाई अझै सम्झना छ २०७० सालको निर्वाचन अभियान सकिएपछि एलबीएको नयाँ सेसन शुरू हुँदै छ। इच्छुक साथीहरूले यी प्रश्नहरूको उत्तर लेखेर पठाउनुहोला भनिएको थियो। प्रश्नहरू सजिला भने थिएनन्। तपाईंको टोलमा खानेपानीको समस्या भयो भने प्रक्रियागत रूपमा के के काम गर्नुपर्छ, लेख्नुस् जस्ता प्रश्न थिए! मैले मेरो मामाहरू सँग सोधेर, छलफल गरेर सबै प्रश्नको जानेको जति, आफ्नो बौद्धिक क्षमताले भ्याएसम्म लेखेर पठाएँ। त्यसको अर्को महिना मलाई ६ महिनाको प्रतिबद्धता माग्दै म छानिएको खबर गोविन तिम्सिना दाइले फोन गरेर भन्नुभयो। त्यो क्षण सम्झिँदा म अझै पनि बुरुक्क उफ्रिन्छु होला किनभने मलाई जुन समूह औधी मनपरेको थियो अब मैले त्यहाँ नै सिक्न,पढ्न पाउने भएँ। एलबीएमार्फत् देशका प्रशासनिक र ऐतिहासिक विषयमा अनुभवी व्यक्तित्वसँग छलफल र अन्तरक्रिया हुन्थ्यो। त्यसको नेतृत्व भने गोविन्द नारायण दाइले गर्नु भएको थियो। दलको प्रशासनिक र आर्थिक व्यवस्थापन अर्जुन सिंह ठकुरी दाइ र दिवेश दाइको जिम्मामा थियो। अन्य खालका अभियानहरू भने हामी सबै मिलेर गर्थ्यौं। त्यसको संयोजन भने पुकार बम दाइले गर्नुभएको थियो। बाँकी हामी सबै बाछिटा थियौँ। विवेकशील नेपाली दलको आधारशिला बन्दै गर्दा हामी इँटा बनेर जोडिएका थियौँ। उतिखेर हाम्रो संघर्ष बढीजसो “हामी तर्कशील छौँ। हाम्रो कन्टेन्ट बलियो छ” भनेर विश्वास दिलाउने बाटोमा बढी भयो क्यार। अहिले फर्केर हेर्दा केही सीमित विद्वानहरूलाई बुझाउनका लागि बढी नै प्रयत्न गरेछौँ जस्तो लाग्न थालेको छ।

काठमाडौँको मेयरमा उम्मेदवारी
२०७४ सालको स्थानीय निर्वाचनमा विवेकशील दलको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा म विवेकशील नेपाली दलले चयन गरेको उम्मेदवार भई चुनावी प्रतिस्पर्धामा उत्रिएँ। बाहिर म व्यक्ति थिएँ तर ममाथि पुरै संगठनको साखको कुरा थियो। दलको नाम थोरै बहुत राख्न सकियो पनि। हामी उतिखेर स्थानीय स्तरका अजेन्डा लिएर चुनावमा होमिएका थियौँ। ब्रह्म, ज्ञान, स्रोत र साधनले भ्याएसम्म हाम्रो टिमको अध्ययनबाट “काठमाडौँ भिजन” तयार पारेका थियौँ। मैले आफ्नो दलको अजेन्डाबारे सकेसम्म बुझाउने प्रयत्न गरेँ।

यद्यपि, चुनावमा अजेण्डाभन्दा बढी पुराना दल र नेताप्रतिको वितृष्णा बिक्यो। कलिलो युवा उमेर, भाषण शैली, ऊर्जा, निडरपनजस्ता कुरा बढी खपत भए। जे बढी खपत भयो, त्यसले त्यो निर्वाचनमा त जसोतसो पार्टी र आफ्नो समेत साख जोगाइदियो। यस पटक त ठिकै भयो तर ‘कन्टेन्ट’ (प्रस्ट विचार, योजना र गन्तव्य) भएन भने आगामी राजनीतिमा हम्मे हम्मे पर्छ भन्ने कुरा मलाई उतिखेर पनि हेक्का थियो। मैले श्रद्धा गर्ने र कतिपय आलोचनात्मक चेत राख्नेहरूको विचार पनि मेरैजस्तो थियो।

‘कन्टेन्ट’को चिन्ता
मलाई व्यक्तिगत रूपमा “कन्टेन्ट नै छैन कि” भन्ने कुराले धेरै पिरोल्थ्यो। २०७४ देखि २०७९ बीचमा मेरा जीवनमा यस्तो पनि आयो कि “म जिरो नै हुँ, मैले पाएका अवसरहरू ती मानिसहरूले झुक्किएर मलाई दिएका हुन्। ममा केही कन्टेन्ट नै पो छैन कि” भन्ने पिरलोले खायो मलाई। फलस्वरूप केही पत्रिकाहरूमा लेख लेखेँ। आफूलाई वैचारिक रूपमा बलियो र अजेन्डायुक्त बनाउन आवश्यक छ भन्ने ठानेँ। यस बीचमा अनौपचारिक रूपमा रमेश सुनार सरसँग दर्शनशास्त्रको कक्षा लिने अवसर जुर्‍यो। विश्वविद्यालयमा पनि राजनीति शास्त्र लिएर पढ्न थालेँ। अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा पनि विभिन्न राजनीतिक कार्यशालामा सहभागी हुन थालेँ। त्यसले मलाई समाजका जटिलता बुझाउन सहयोग गर्‍यो। विचार र सिद्धान्तका किन अर्थ छन् भन्ने प्रस्ट्याउन मद्दत गर्‍यो।

२०७४ सालमा रवीन्द्र मिश्र जी नेतृत्वको साझा पार्टीसँग विवेकशील नेपाली दलको पहिलो एकीकरण भयो। तर त्यसबाट हाम्रो अभियान अलमलिएको महसुस भयो। विवेकशील-साझा भइसकेपछि पार्टीभित्र आन्तरिक खिचातानी बढे, मनमुटाब बढ्यो। जसले गर्दा त्यहाँभित्रका कैयौँ विज्ञहरूसँग अन्तर्क्रिया र ज्ञान सङ्गतका कुरा कम भए। पहिलो एकीकरण भङ्ग भएपछि विवेकशील नेपाली दलले राजनीतिक, सैद्धान्तिक रूपमा बलियो हुन नीति सम्मेलन (रोल्पा सम्मेलन) र जनकपुरमा अधिवेशन पनि भयो जहाँ बाट नयाँ नेतृत्व आयो। । रोल्पा सम्मेलन बाट साधारण सदस्यहरूले दलको नीति निर्माणमा प्रत्यक्ष सहभागी हुने अवसर प्राप्त गरे। यो हाम्रो लागि ठुलो कुरा त थियो नै नेपालको राजनीतिमा दलहरूको आन्तरिक लोकतन्त्रको सशक्त उदाहरण दिने कुरा पनि थियो। तर, पहिलो एकीकरण भङ्ग भएपछि र नयाँ नेतृत्व पाए पछि पनि विवेकशील नेपाली राम्ररी अघि बढ्न सकेन । म भन्छु बढाउन सकिएन। कास्की -२ को उपनिर्वाचनको परिणाम पछि पार्टी पुनः एकीकरण गर्ने कुरा अघि आउन थाल्यो। पछि, विवेकशील साझाको दोस्रो एकीकरण पनि भयो तर यसैले विवेकशीललाई झनै तितरबितर बनायो।

हुनलाई दोस्रो पटक पार्टी एकीकरण हुनुपर्छ भनेर वार्ता टोली म पनि सामेल थिएँ र यसभित्रका विभिन्न पाटो आफैँले जान्न पाएँ। सम्झौता पत्रमा दुई वार्ता समूहले गरेको सहमतिलाई भुलेर पछि “राजनीतिक निर्णय” भन्दै रवीन्द्र मिश्रजीले नमानेर हिँड्नुभयो। उहाँको सैद्धान्तिक विचलन र त्यसले पार्टीमा ल्याएको उथलपुथलको प्रभाव निकै गाढा रह्यो। व्यक्तिगत रूपमा हरेक मानिसले जुनसुकै दर्शन, सिद्धान्त वा वाद मान्छु या मान्दिनँ भन्न पाउँछ तर दोस्रो एकीकरणलाई मिश्र जीले किन नाटक मञ्चनका रूपमा सम्झनुभएको होला भन्ने प्रश्न मेरो मनमा उठिरहन्छ।

स्वतन्त्र उम्मेदवारी
पार्टीको खिचातानीले यस्तो अवस्था आयो कि आफ्नो “व्यक्तिगत शान्ति” बचाउनकै लागि पनि पार्टीबाट टाढिनुपर्छ भन्ने लाग्यो। यस बीचमा धेरैजसो मान्छेले कता हराएको भनेर सोधे। त्यस कुराले मेरो मन धेरै पोल्थ्यो कारण तपाईले माथि नै पढ्न सक्नुहुन्छ। मलाई हराउनु छैन र थिएन। मलाई नेपाली समाजको रूपान्तरणमा कुनै न कुनै रूपमा भूमिका खेल्ने मन थियो र छ। सोही कारण २०७९ सालको संघीय चुनावमा काठमाडौँको क्षेत्र नम्बर ५ बाट नितान्त स्वतन्त्र हैसियतमा आफ्ना विचार र अजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा हाम फालेँ। मैले कतिपय अन्य उम्मेदवारले ध्यानै नदिएका तर अत्यन्त महत्त्वपूर्ण मुद्दा (जस्तो कि : मानसिक स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकार) लाई समेत चुनावी अजेन्डा बनाएँ। चुनावी घोषणापत्र सार्वजनिक गरेको  दिन यो निर्वाचनमा मेरो आधा यात्रा सकिएको झैँ लागेको थियो। किनकि राजनीतिमा योजना र विचारको ठुलो अर्थ हुन्छ भन्ने बुझ्ने भएको थिएँ र छु। त्यसो हुँदा घोषणापत्र बनाउन केही साथीहरूसहित धेरै मेहनत गरेको थिएँ।

उसो त २०७४ सालको काठमाडौँ महानगरपालिकाको चुनावमा मेयरमा पराजित भएपछि कतिपय युवा र दीक्षित मतदाताले  “अर्को निर्वाचनमा स्पष्ट विचार लिएर आउनु, अनि हेरौँला” समेत भन्नु भएको थियो। र, यस चुनावमा आफ्ना एक एक मतदाता भेट्ने रणनीति लिएर म चुनावमा होमिएँ। ७० हजारभन्दा बढी मतदाता भएको क्षेत्रमा झन्डै १६ हजारसँग भेटेँ। यस क्रममा मैले बुझेँ, “यो वाद, त्यो वाद देश भयो बरबाद” होइन, “वाद एक तर बात अनेक” भएका कारण हाम्रो राजनीति बिग्रेको रहेछ। ‘काम कुरो एकातिर कुम्लो बोकी थिमि’ तिर उन्मुख भएका कारण हामी राजनीतिक , प्रशासनिक र आर्थिक रूपमा उन्नति गर्न नसकेका रहेछौँ। तर चुनावमा व्हिम जसरी नि चाहिने रहेछ। गोविन्द नारायण दाइ भन्ने गर्नुहुन्थ्यो नेपालीहरूलाई “चटक देखाउने, नाटक गर्न सक्ने चाहिएको छ”। दाइको कुरा अहिले अझै सान्दर्भिक लाग्छ। अधिकांश  नेपालीहरूको चाहना एक दमदार हिरो को छ जसले सबै काम ड्याङ ड्याङ गर्दिन सकोस्। वाद-साद गोली मार, काम गर भन्ने आक्रोश छ यहाँ तर कामै गर्न पनि एक असल विचार, सिस्टम चाहिन्छ, कलेक्टिभ लिडरसिप चाहिन्छ। अधिनायकवाद, हिटलरवाद हामीले रोज्न हुँदैन। आफ्नो खुट्टोमा आफैँ बन्चरो हान्न हुँदैन।

राजनीतिमा वाद र विचार अवश्य नै महत्त्वपूर्ण विषय हुन्। मोहनदास करमचन्द गान्धीले त्यसै “सिद्धान्तविनाको राजनीति पाप हो” भनेका होइनन्। तर मलाई लाग्छ वाद, सिद्धान्त र विचारका आधारमा मतदान केन्द्रमा भोट हाल्न जाने मतदाता भेट्टाउन अझै एक-दुई दशक जति कुर्नुपर्छ।

२०७९ पौष २, शनिबार उकालो अभियानमा प्रकाशित

In a peaceful protest pressurizing Second Constituent Assembly Members to draft the Constitution on time. 2071 B.S.